Wednesday, October 18, 2017

प्रलेस / कञ्चनपुर

कार्यपत्र

कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यको अवस्था 
खगेन्द्र जोशी
                     
१. विषय प्रवेश

कञ्चनपुर जिल्लामा हुने गरेका विविध खाले साहित्यिक गतिविधिका बिचमा प्रगतिवादी साहित्यको अवस्था के कस्तो रहेको छ भनी विमर्श गर्नु नै प्रस्तुत कार्यपत्रको मुख्य विषय रहेको छ । कञ्चनपुर जिल्ला पुरानो संरचना अनुसार नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चलको एक मात्र तराईको जिल्ला हो जुन नयाँ संरचना अनुसार प्रदेश नं. ७ मा पर्दछ । यो जिल्ला यस प्रदेशका पहाडी जिल्लाका तुलनामा शिक्षा, जनचेतना, सामाजिक तथा भौतिक विकासका दृष्टिले केहीे अगाडि देखिए पनि अन्य विकसित जिल्लाका तुलनामा भने हरेक क्षेत्रमा पछाडि नै परेको पाइन्छ । यसरी अन्य क्षेत्रमा पछाडि परेको जिल्लामा साहित्यिक गतिविधिहरू पनि फस्टाउन नसक्नु स्वाभाविक नै हो । त्यसमा पनि झन दर्शनहरूमध्ये वैज्ञानिक तथा समुन्नत दर्शनका रूपमा रहेको माक्र्सवादी दर्शनमा आधारित भएर रचिने प्रगतिवादी साहित्य रचना गर्नका निम्ति हाम्रो जस्तो निम्न पुँजीवादी चिन्तनबाट ग्रसित अर्ध औपनिवेशिक तथा अर्ध सामन्ती समाजमा आवश्यक अनुकूलताको अभाव रहनु अस्वाभाविक होइन । यस जिल्लामा भाषा तथा साहित्यको उन्नयनका लागि राज्यका तर्फबाट केन्द्र तथा स्थानीय तहमा कुनै किसिमका कार्यक्रम नबनाइनु, अनि भाषा तथा साहित्यका क्षेत्रमा काम गर्ने उद्दश्यले स्थापना गरिएका राष्ट्रिय तथा स्थानीय तहका केही संस्थाहरू जिल्लामा क्रियाशील रहे पनि तिनले आफ्ना काम कारबाही व्यवस्थित गर्न नसक्नु, साहित्यिक गतिविधिहरू बाक्लिन नसकेकाले जिल्लामा साहित्यमय वातावरण तयार नहुनु जस्ता कारणले जिल्लाभित्र समग्रतामै साहित्य सिर्जनाका लागि अनुकूल अवस्थाको अभाव रहेको छ र प्रगतिवादी साहित्यका क्षेत्रमा पनि पर्याप्त मात्रामा काम हुन सकेको छैन । यस्ता अनेकौँ प्रतिकूलताका बिचमा पनि यस जिल्लामा प्रगतिवादी साहित्यका क्षेत्रमा काम हुँदै नभएको भने होइन । वि.स.२००७ सालमा प्रजातन्त्रको आगमन सँगै विकसित परिवर्तनकामी सोच तथा अग्रगामी चेतनाको परिणाम स्वरूप देशमा प्रगतिवादी साहित्य लेखिन थालेको र त्यही समयको सेरोफेरोमा कञ्चनपुर जिल्लामा पनि प्रगतिवादी साहित्य लेखनको प्रयास हुन थालेका देखिन्छ । यस क्रममा त्रिपक्षीय दिल्ली सम्झौताको विरोधमा विद्रोह गर्न पुगेका क्रन्तिकारी नेता भिमदत्त पन्तले कञ्चनपुर जिल्लाको तत्कालीन सदरमुकाम बेलौरी र मुख्य व्यापारिक नाका ब्रह्मदेव मन्डीमा सरकार तथा ठालुका विरुद्धमा सङ्घर्ष सञ्चालनका क्रममा मौखिक तथा लिखित रूपमा व्यक्त गरेका साहित्यिक अभिव्यक्तिहरूबाटै यस जिल्लामा प्रगतिवादी साहित्यको बीजारोपण भएको मान्न सकिन्छ । यसरी वि.स.२००८÷९ सालदेखि हालसम्म प्रगतिवादी साहित्यका क्षेत्रमा के कति मात्रामा के कस्ता काम भए, हुनु पर्ने तर हुन नसकेका कामहरू के के हुन अनि आगामी दिनमा प्रगतिवादी साहित्यको विकासका निम्ति के कस्ता काम गर्नुपर्ने हुन्छ भन्ने कुरामा नै यो कार्यपत्र केन्द्रित रहेको छ । यसरी जिल्लाको प्रगतिवादी साहित्यको अवस्थाबारे चर्चा गर्दा प्रगतिवादी साहित्यका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नु पनि प्रासङ्गिक ठानिएकोले कार्यपत्रमा पहिले प्रगतिवादी साहित्यका मूल्य तथा मान्यताहरू केलाउने काम गरिएको छ र तत्पश्चात समय र क्षमताले भ्याए जति जिल्लाभित्र भए गरेका प्रगतिवादी साहित्य सम्बद्ध साहित्यिक गतिविधिहरूमाथि प्रकास पार्ने प्रयास गरिएको छ ।

२. प्रगतिवाद : एक साहित्यिक सिद्धान्त
प्रगतिवाद माक्र्सवादी सौन्दर्यमा आधारित एक साहित्यिक सिद्धन्त हो । पछिल्लो समयमा विश्व साहित्यमा प्रगतिवाद निकै महŒवपूर्ण स्थान ओगट्न सफल भएको छ । साहित्य सिर्जना र यसको विकासक्रमलाई समेत प्रभावित पार्ने प्रगतिवाद शब्दको शाब्दिक अर्थका साथै यसले वहन गरेको राजनैतिक, वैचारिक तथा दार्शनिक अर्थ समेत नबुझी उक्त शब्दले अभिव्यञ्जित गर्ने अर्थको बोध हुन सक्दैन ।
गमन÷ हिँडाइ÷ चाल अर्थ बोध गराउने ‘गति’ आधार पदमा ‘प्र’ उपसर्ग लागेर व्युत्पन्न भएको ‘प्रगति’ शब्दले उन्नति, उत्थान, विकास, समृद्धिका साथै कुनै कार्य अगाडि बढेको अवस्था वा अग्रगमनतर्फको गत्यात्मक अवस्था वा कामको विस्तार भन्ने अर्थ बोध गराउँछ । त्यही ‘प्रगति’ शब्दमा सिद्धान्त बोधक शब्द ‘वाद’ जोड्दा ‘प्रगतिवाद’ शब्दको व्युत्पत्ति हुन जान्छ जसले सामान्य अर्थमा अगाडि बढ्न खोज्ने वा उन्नतिमा जोड दिने सिद्धान्त भन्ने अर्थ बुझाउँछ तर आज यो शब्द आफ्नो त्यो सामान्य अर्थमा मात्र सीमित नरही विशिष्ट अर्थ ग्रहण गर्न पुगेको छ । विशिष्ट अर्थ अनुसार ‘प्रगतिवाद’ शब्दले  समाजको भौतिक विकासमा जोड दिने माक्र्सवादबाट प्रभावित साहित्यको एक सिद्धान्तलाई बुझाउँछ (अधिकारी र भट्टराई, २०६३ः ६४४) । साहित्यका क्षेत्रमा प्रगतिवादले त्यही अर्थ राख्दछ, जुन अर्थ राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक आर्थिक क्षेत्रमा समाजवाद र दर्शनका क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादले राख्दछ (ने.रा.प्र.प्र., २०५६ः ४९३) । यसबाट के कुरा प्रष्ट हुन्छ भने माक्र्सवादी दर्शनद्वारा अनुप्रणित साहित्य अर्थात् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई आधार मानी लेखिएको साहित्यलाई प्रगतिवादी साहित्य मानिएको पाइन्छ (भण्डारी, २०७१ः २७) । माक्र्सवादी दर्शनलाई जीवन जगत् सम्बन्धी दृष्टिकोण स्वीकार गरी साहित्यकलाका क्षेत्रमा संलग्न भई सिर्जन कर्म गर्ने, कलासाहित्यलाई सर्वहारा वर्गको मुक्तिको माध्यम बनाउने र साम्यवादी समाज निमार्ण गर्ने उदात्त आकाङ्क्षा प्रगतिवादी साहित्यकारले राखेको हुन्छ । सामन्तवादी र पुँजीवादी व्यवस्थाका विरुद्धमा उभिने साहित्यिक कर्म तथा यथतर्थवादी पवृत्ति र पद्धति प्रगतिवादका परिचायक हुन् । प्रगतिवादलाई अर्को शब्दमा समाजवादी यथार्थवाद पनि भनिन्छ । यसले जीवनगत यथार्थलाई वस्तुगत रूपमा प्रतिविम्बन गर्ने कुरामा जोड दिन्छ । समाजमा व्याप्त विकृति तथा विसङ्गतिहरूको विरोध गर्दछ अनि त्यस्ता समस्याको कारण सहित प्रष्ट पार्दै समस्या समाधानका लागि सुस्पष्ट दिशा निर्देश गर्दछ । यसरी प्रगतिवादले वर्ग सङ्घर्ष र सर्वहारा वर्गको मुक्तिलाई कलात्मक रूपमा अभिव्यञ्जन गरी सर्वहारा वर्गको अधिनायकत्व, सर्वहारा मानवतावाद, वर्ग प्रतिबद्धता र वर्ग पक्षधरता जस्ता सर्वहारा मूल्य र आदर्शको स्थापनालाई अगाडि सार्ने कार्य गर्दछ (भण्डारी, २०७१ः २७) ।
प्रगतिवादी साहित्यबारे चर्चापरिचर्चा गररिहँदा यसबारे अझै प्रस्ट हुन प्रगतिशील साहित्यबारे पनि चर्चा गर्नु प्रासङ्गिक नै हुन्छ । प्रगतिवाद र प्रगतिशील शब्दलाई कतिपयले एकअर्काको पर्यायतामा पनि प्रयोग गर्ने गरेको देखिन्छ । तर यी दुई शब्दका अर्थमा आंशिक रूपमा समानता रहे पनि पर्याप्त मात्रामा भिन्नता रहेको पइन्छ । प्रगतिशील शब्द प्रगतिवाद शब्दले व्यक्त गर्ने अर्थको सम्पूर्णतालाई समेट्न सक्दैन । प्रगतिवाद माक्र्सवादमा आधृत साहित्य सिद्धान्त हो । यसले द्वन्द्वात्मक भौतिकवादलाई आत्मसात गर्दछ । प्रगतिशीलताले माक्र्सवाद तथा द्वन्द्वात्मक भौतिकवादका मूल्य र मान्यतालाई  पूर्ण रूपमा पालना गर्दैन । यसले यथास्थितिप्रति असन्तुष्टि त प्रकट गर्दछ तर आमूल परिवर्तनका लागि स्पष्ट दिशा निर्देश भने गर्दैन बरु सामान्य सुधारमै सीमित रहन्छ । । समाजको यथार्थपरक चित्रण गर्ने र समाजमा विद्यमान सामाजिक समस्या तथा विकृति र विसङ्गतिको विरोध गर्ने काम दुवैले गर्दछन् तर प्रगतिशीलताले प्रगतिवाद झैँ सामाजिक समस्याको मूल कारण उजागर गरी समस्या समाधानका निम्ति उपयुक्त मार्गनिर्देश गर्दैन । प्रगतिशील साहित्यमा पनि प्रगतिवादी साहित्यमा झैँ सामन्तवाद, सम्राज्यवाद तथा विस्तारवादको विरोध गरिएको त हुन सक्छ तर समाजवादी तथा साम्यवादी समाजको निर्माणका लागि आह्वान गरिएको हुँदैन । प्रगतिवादी साहित्य वर्गप्रतिबद्ध हुन्छ तर प्रगतिशील साहित्यमा वर्गप्रतिबद्धताको अभाव रहन्छ । 
प्रगगिवादी साहित्य र प्रगगिशील साहित्य बिचको भिन्नता बुझ्न समाजवादी यथार्थवादी साहित्य र आलोचनात्मक यथार्थवादी साहित्यका बिचको  भिन्नता बारेको जानकारीबाट पनि सहयोग पुग्नसक्छ । सतही रूपमा हेर्दा यी दुईका बिचमा पनि समानता रहेको जस्तो लाग्दछ तर गहिरिएर हेर्दा यिनका बिचमा निकै भिन्नता देखिन्छ ।
जीवन र जगतको यथार्थ चित्रण अनि समकालीन अव्ययस्था, समाजमा विद्यमान शोषण, दमन, अन्याय, अत्याचार, अन्धविश्वास, रूढिवादी परम्परा, लैङ्गिक तथा जातीय विभेद जस्ता सामाजिक विकृतिप्रति तीव्र विरोध दुवैमा पाइने साझा विशेषता हुन तर समाजवादी यथार्थवाद त्यतिमा मात्र सीमित रहँदैन बरु यसमा त समस्यको कारण र निराकरण पनि प्रस्तुत गरिएको हुन्छ । सजिलैसँग बुझ्ने गरी भन्नु पर्दा आलोचनात्मक यथार्थवादी साहित्यमा समाजमा बलियाले निर्धामाथि गर्ने गरेको अन्याय र अत्याचारकोे विरोध त गरिएको हुन्छ तर त्यस्तो अन्याय र अत्याचारकोे अन्त्यका लागि सचेततरूपमा सङ्गठित तथा सशक्त विद्रोहकोे आह्वान भने गरिएको हुँदैन । विद्रोहको प्रकीर्ण झिल्का देखिए पनि त्यो असचेत, अङ्गठित, अराजक तथा व्यक्तिगत बदलाको भावनाले प्रेरित हुन्छ । आलोचनात्मक यथार्थवादमा आत्मगतताको प्रधानता रहेको हुन्छ र प्रगतिवादले वस्तुगत तथ्यमाथि जोड दिन्छ । आलोचनात्मक यथार्थवादमा स्वच्छन्दतावादी क्रान्तिकारिताले प्रश्रय पाएको हुन्छ भने समाजवादी यथार्थवादले वस्तुवादी क्रान्तिकारितामा विश्वास गर्दछ (जोशी, २०६५ ः ५५) । यसरी समाजवादी यथार्थवादी साहित्य नैै प्रगतिवादी साहित्य हो भने आलोचनात्मक यथार्थवादी साहित्य प्रगतिवादी नभएर प्रगतिशील साहित्य मात्र हो ।
समाजवादी यथार्थवाद र आलोचनात्मक यथार्थवादबारे उदाहरणबाटै प्रस्ट पार्न यहाँ भुवन निस्तेज र खगेन्द्र जोशीका दुइटा लघुकथा प्रस्तुत गर्ने काम गरिएको छ 
देउताहरूको इच्छा
                                                                    भुवन निस्तेज 
“अब घर जानु पर्छ ।” अगुवाले भन्यो ।
“कुन घर ?” पछ्याइरहेकाले प्रश्न तेर्स्यायो, “हामी त नयाँ संसारको खोजीमा हिंडेकाभन्नुहुन्थ्यो त?”
“हो तर अब घर फर्किनु पर्छ ।” अगुवाले कुनै कारण बताएन ।
“अनि नयाँ संसारवाला कुरा नि? फेरि हामीहरूले उल्लेखनीय यात्रा पुरा गरिसकेका छौं । यस्तोमा हामीले आजसम्म पार गरेका भिर, पाखा, गाह्रा, अप्ठ्यारा र यत्रो यात्राका उपलब्धिहरूको फेहरिस्तहरू के गर्ने त ?” अर्को पछ्याइरहेकाले जिज्ञासा थप्यो । 
“ती सबैको अभिलेख राखिएको छ । हाम्रा यस यात्राका अनुभूतिहरू भविष्यमा हाम्रा लागि उपयोगी सिद्ध हुनेछन ।” अगुवाले स्पष्टीकरण दियो ।
“त्यसो भए के हामी पुरानै परिवेशमा फर्किने त ?जसलाई फेर्न हिजो हामीले त्यत्रो कष्टसाध्य यात्रा थालेका थियौं ।” एउटा अर्को पछ्याइरहेकाको प्रश्न ।
“हो... ”, अगुवाको चिसो संवेदनहीनजवाफ ।
“त्यसो भएत्यो जोखिमपूर्ण यात्राथाल्नुको के औचित्यथियो त? फेरि हमीले जे जे गुमायौं त्यसको के हुने ?” यो अर्कैको प्रश्नथियो ।
साथीहरू ! साथीहरू !! साथीहरू !!!”  उसले सम्झाउने पारामाभन्यो, “यो अधीरता त्याग्नुस् । सब ठिक  हुन्छ । त्यो जोखिमपूर्ण यात्रा र त्यो गुमाई उचित क्षतिपूर्तिद्वारा प्रतिस्थापित गरिनेछ ।”
“क्षतिपूर्ति ? यस प्रकारको यात्राको क्षतिपूर्ति लक्षप्राप्तिबाहेक अरु के नै हुन सक्छ र ?” फेरि एउटा   जिज्ञासा ।
“यहाँको कुरो सही हो, तर प्रतिकूल परिवेशमा यात्रा जारी राख्नु पनि त बुद्धिमानी होइन । हेर्नुस हाम्रो यात्रा अवधिको समग्र आर्जन पनि त अर्थपूर्ण छ ।” अगुवाले आकास तिर हेर्दै भन्यो, “हेर्नुस हामीहरू खुला मैदानमा छौं र मौसमले भीषण असिनापातको संकेत गर्दैछ । त्यसैले आऔं हामी एकपल्ट हाम्रो सहयात्रामा निभ्नपुगेका दियाहरूको नाममा एक मिनेट मौन धारण गरौँ र फर्किऔं ।”
यात्रुहरुको भीडबाट एउटा गम्भीर तर संयमित स्वर सुनियो, “महामहिम अगुवा, यो त वस्तुगत आँकलन भएन । जुन असिनापातको सम्भाव्य आतंकबाट तपाईं यो यात्रा रोक्ने निर्णयमा पुग्नु भएको छ त्यसै प्रकृतिका सयौं असिना झरीहरूसँग पैंठाजोरी खेल्दै हाम्रो यात्रा यो स्थानसम्म पुगेको छ । हाम्रा टाउकामा यी टुटुल्का, करङमा काम्रा हेर्नुस् हामीले पथका दुर्दान्त अवरोधहरू डटेर पन्छाएका छौं । आज अचानक यो यात्रा रोक्नुको अभिप्राय के ?”
एकछिन अडिएर अगुवाले भन्यो, “समादरणीय आदि(जिगीशु ! यहाँको मतहाम्रो समुहमा सधैं सम्मानित  रहन्छ । तर मैले वस्तुस्थितिलाई मद्देनजर गरेर नै यो निर्णय लिएको हुँ ।” उसले लामो सास तान्दै माथितिर हेर्दै भन्यो, “फेरि आकाशका देउताहरूको पनि यस्तै इच्छा छ ।”
एक छिन समुहमा मौनता छायो । सबै फर्किए । र, यात्रा टुंगियो । तर एउटा नवयुवक त्यहीं अडिइरह्यो । उसमा पछाडि फर्किने साहस आएन । उसले सोच्यो, “परिवेश यात्रा थालिंदा पनि यस्तै थियो । र, आकाशका देवताहरूको इच्छा ऊ बेला पनि यात्रा अनुकूल थिएन ।”

अस्पतालको उद्घाटन
                                                                                    –खगेन्द्र जोशी
सहर दुलही जस्तै सिँगारिएको थियो । ठाउँ ठाउँमा स्वागतद्वारहरू ठड्याइएका थिए, तुलहरू झुन्ड्याइएका थिए, ध्वजापताकाहरूले पनि सहरको सुन्दरता झनै बढाएका थिए । मुख्य सहर बाहिर अस्तव्यस्त तथा अनियन्त्रित भिड बढ्दै गए पनि मुख्य सहरका सडकमा भने आज अरू दिनको जस्तो छरपस्टिएको अनियन्त्रित तथा अव्यवस्थित भिड थिएन । अझै भन्नु पर्दा राष्ट्रप्रमुखको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी आवश्यक मान्छेलाई मात्र मुख्य सहरभित्र पस्ने अनुमति दिइएको थियो । मुख्य सहरभित्र पस्ने पूर्व र पश्चिमतिरको एक एक नाका छोडेर अन्य सबै नाकाहरू बन्द गरिएका थिए । जनताको स्वास्थ्यप्रति अति नै संवेदनशील वर्तमान सरकारले नेपाली जनताको स्वास्थ्य समस्या समाधानार्थ सहरमा निर्माण गरेको अस्पतालको उद्घाटन गर्न राष्ट्रप्रमुख आउने कार्यक्रम रहेकोले सबै सुरक्षा निकायलाई चनाखो बनाइएको थियो । विकास विरोधीका रूपमा चिनिएकाहरूले अस्पताल निर्माणका क्रममा भएको भ्रष्टाचारलाई उठाएर होहल्ला गर्न सक्ने सम्भावनालाई ध्यान दिएर मुख्य सहरभित्र पस्ने जो कोहीमाथि कडा निगरानी राखिएको थियो । झन अस्पताल परिसरभित्र त अनुमतिपत्र पाएका बाहेकलाई पस्न दिइएकै थिएन । 
नवनिर्मित अस्पतालको उद्घाटन गर्न राष्ट्रप्रमुख आउने हल्ला टाढा टाढाका गाउँसम्म फैलिएकोले गाउँबाट हुलका हुल मान्छेहरू रमिता हेर्न आउँदै थिए । तर ती सबलाई मुख्य सहरभित्र पस्न नदिएर सहरकै छेउमा रहेको खुल्लामञ्चमा जम्मा गरिँदै थियो । त्यही क्रममा रमिता हेर्न अर्को सहरबाट साथीहरूसँगै मोटर साइकलमा हुँइकिँदै आएको एउटा ठिटोले रमिता हेर्नकै लागि नजिकैको गाउँबाट पैदल सहरतिर लागेको एउटा वृद्धलाई यति जोरले ठोक्यो कि वृद्ध सडकमा पछारिएर रगताम्य भए । टाउकोमा गहिरै चोट लाग्यो । ठिटो पनि नराम्ररी पछारियो र घाइते पनि भयो । दुवै बेहोस भए । ठिटासँग आएका उसका साथीहरूले तुरन्तै एम्बुलेन्स खोजेर उसलाई उपचारका लागि भारततिर लगेर गए । वृद्धका आफन्तहरूले उसलाई आर्थिक अभावका कारण तुरन्तै उपचारका निम्ति बाहिर लग्न सकेनन् । रिक्सामा हालेर त्यही अस्पतालमा लैजान खोजे तर राष्ट्रप्रमुखको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उद्घाटन नहुँदासम्म कसैलाई पनि अस्पतालको परिसरभित्र पस्ने अनुमति नभएको माथिको आदेश सुनाए । आफन्तहरूसँग अत्यधिक रक्तस्राव भइरहेको बेहास वृद्धलाई रुँगेर अस्पतालभित्र पस्नपाइने समय कुर्नुको विकल्प थिएन । राष्ट्रप्रमुखको व्यस्तताका कारण उद्घाटन पनि तोकिएको समयभन्दा निकै ढिला मात्र हुनसक्यो ।
करिब दुई घण्टापछि अस्पतालको उद्घाटन गर्न राष्ट्रप्रमुखको बाहुलीबाट रिबन काटिँदै थियो  अर्कातिर वृद्धका आफन्तको अगाडि कपडा पसले वृद्धका लागि कात्रो काट्दै थियो ।
यी दुई लघुकथामध्ये पहिलोमा अग्रगमनतिरको यात्रा नरोकी निरन्तर अगाडि बढ्नु पर्ने विचार व्यक्त छ र यस लघुकथाको नायक लामो क्रान्तियात्राको थकाइ तथा बाह्यहस्तक्षेपका कारण क्रान्तिकारी विचारबाट विचलित नेतृत्वको यथास्थितिवादी सोचसँग विद्रोह गर्दै अगाडि बढेको छ । प्रगतिवादी कृतिमा नायक हुतिहारा, लाछी, विवश, पलायनवादी हुँदैन बरु ऊ त प्रतिकूलतालाई अनुकूलतामा बदल्न बल गर्छ, उपाय खोज्छ, वीरतापूर्वक अगाडि बढ्छ । पहिलो कथामा त्यो पाइन्छ त्यसैले त्यो प्रगतिवादी लघुकथा हो । दोस्रोमा सामाजिक विकृतिको त विरोध गरिएको छ तर त्यसबाट मुक्तिको मार्ग निर्देशन छैन त्यस कारण त्यो आलोचनात्मक यथार्थवादी लघुकथा हो ।
प्रगतिवादको मार्गनिर्देशक सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद हुनाले प्रगतिवादी साहित्यमा अलौकिक तथा काल्पनिक कुराको प्रस्तुति नगरी जीवन र जगतका वस्तुपक्षको जस्ताको त्यस्तै  चित्रण गरी, सामन्तवादी तथा पुँजीवादी समाजका सामाजिक अव्यवस्थाले जन्माएका विकृति तथा विसङ्गतिको मूल कारण खोजी गरी, त्यस्ता विकृति तथा विसङ्गतिको अन्त्य गरेर समतामूलक समाजको निर्माणका लागि आह्वान गरिएको हुन्छ ।
प्रगतिवादले समाजमा देखिने अधिकांश समस्याको जड आर्थिक विषमता नै हो भन्ने मान्दछ । समाजमा जति पनि आपराधिक तथा उत्पीडनमूलक घटनाहरू घट्छन् ती सबैका पछाडि यो वा त्यो रूपमा जनविरोधी उत्पादन प्रणाली तथा त्यसले निर्माण र निर्धारण गरेको जनविरोधी आर्थिक, राजनैतिक, वैचारिक र साँस्कृतिक सम्बन्धको हात रहेको हुन्छ भन्ने कुरामा प्रगतिवादीहरू विश्वास गर्दछन् । यसरी सबै समस्याको जडका रूपमा रहेको आर्थिक विषमताको अन्त्य गरी समाजमा आर्थिक समानता कायम गर्नका निम्ति सीमित व्यक्तिको नियन्त्रणमा रहेका उत्पादनका साधनहरूमाथि समाज तथा राज्यको सामूहिक स्वमित्व कायम गरी समाजवाद हुँदै साम्यवादी समाजको स्थापना हुनु पर्ने तर त्यो कार्य शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्भव नहुनाले त्यसका लागि सशस्त्र क्रान्तिको आवश्यकता पर्ने कुरामा प्रगतिवादले जोड दिन्छ । 
प्रगतिवादी साहित्यमा वर्गद्वन्द्वको प्रस्तुतिका साथै वर्ग पक्षधरता तथा वर्ग प्रतिबद्धताको प्रस्तुति पाइन्छ । साम्यवाद (आदिम तथा वैज्ञानिक) इतरको जुनसुकै समाजमा पनि वर्गहरूको अस्तित्व कायम रहेको पाइन्छ र ती वर्गका बिचमा वर्गद्वन्द्व पनि कायम रहेको देखिन्छ । हुन त समाज विभिन्न वर्गमा विभक्त हुन्छ तर मूलभूत रूपमा सामाजिक वर्गलाई उत्पादनका साधनमाथिको स्वामित्वका आधारमा हुने र नहुने अथवा शासक र शासित अथवा शोषक र शोषित गरी दुई वर्गमा विभाजन गर्न सकिन्छ । ढुलमुले प्रकृतिका अन्य गौण वर्ग(उपवर्ग) पनि वर्गद्वन्द्वको निर्णायक अवस्थामा आफ्नो वर्गीय स्वार्थ तथा वर्ग चरित्र अनुसार यिनै दुई वर्गमध्ये कुनै एक वर्गमा समाहित हुन पुग्दछन् तर दुई मुख्य वर्गका बिचमा भने निरन्तर वर्गद्वन्द्व चलिरहेको हुन्छ । दास समाजमा दास मालिक र दासका बिचमा, सामन्तवादी समाजमा जमिन्दार र भूमिहीन किसानका बिचमा अनि पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा श्रमजीवीका बिचमा वर्गद्वन्द्व चल्दै आएको छ र समाजवादी व्यवस्थामा समेत फरक किसिमले भए पनि वर्गको अस्तित्व कायमै रहिरहने हुनाले त्यहाँ वर्गद्वन्द्व पनि कायम नै रहन्छ । यसरी वर्गीय समाजमा वर्गद्वन्द्व कायम रहिरहने हुनाले प्रगतिवादी अर्थात् समाजवादी यथार्थवादी साहित्यमा पनि समाजमा कायम रहेको वर्गद्वन्द्वको प्रस्तुति   हुन्छ । यस्तो प्रस्तुति वर्ग निरपेक्ष नभएर वर्ग सापेक्ष हुन्छ । वर्गीय समाजमा हरेक कुरा वर्गीय हुने र साहित्य पनि त्यसको अपवाद हुन नसक्ने मान्यता राख्ने प्रगतिवादले साहित्यलाई सर्वहारा वर्गको वर्गीय चेतना उकास्ने कलात्मक सामग्री तथा प्रतिद्वन्द्वीमाथि प्रहार गर्ने अभेद्य अस्त्रका रूपमा लिनुपर्ने कुरामा जोड दिन्छ । यथास्थितिवादीहरू समाजलाई यथास्थितिमा राखिराख्न बल पु¥याउने उद्देश्यले साहित्य सिर्जना गर्दछन् भने प्रगतिवादीहरू परिवर्तनको पक्ष पोषण गर्ने किसिमको साहित्य सिर्जना गर्दछन् ।    
माक्र्सवादका अनुसार समाजको उत्पादन प्रणली अनुरूप आर्थिक संरचनाको निमार्ण हुन्छ र आर्थिक संरचना अनुकूल नै राजनैतिक व्यवस्था कायम हुन्छ अनि त्यसै व्यवस्था अनुकूल हुने गरी सोच तथा संस्कारको निमार्ण हुने गर्दछ । यसरी व्यक्तिका व्यक्तिगत सोचहरू, व्यवहारिक संस्कारहरू अनि सामाजिक सम्बन्धहरू उत्पादन प्रणलीकै जगमा अडेका हुने हुनाले समाजमा जस्तो उत्पादन प्रणाली कायम छ त्यसै अनुरूप मानिसको सोच तथा विचार, बानी तथा व्यवहारको निमार्ण र विकास भइरहेको हुन्छ । यदि समाजमा समाजवादी उत्पादन प्रणाली कायम छ भने त्यस समाजका व्यक्तिहरूमा ‘सर्वे भवन्तु सुखिनः’ भन्ने सोचको विकास हुन जान्छ । तर समाजमा पुँजीवादी वा सामन्तवादी उत्पादन प्रणाली कायम छ भने त्यस्तो समाजका व्यक्तिहरूमा ‘म खाऊँ मै लाऊँ’ भन्ने भावनाको विकास हुन्छ । यसरी प्रगतिवादीहरूले समाजमा विद्यमान सम्पूर्ण समस्याको स्रोत सामन्ती तथा  पुँजीवादी उत्पादन प्रणालीलाई मान्दछन् र त्यही कुव्यवस्थाको फोहरी फाँटमा अनेकौँ विकृति तथा विसङ्गतिका झ्याङहरू मौलाइरहेका विश्वास गर्दछन् । त्यसैले पुरानो थोत्रो तथा जनविरोधी उत्पादन प्रणाली र त्यसमा अडेका परम्परागत समाज व्यवस्थालाई भत्काएर न्याय र समानताका आधारमा स्वच्छ, सफा तथा सुन्दर समाजको सिर्जना गर्नु पर्दछ भन्ने सन्देश प्रगतिवादी साहित्यले सम्प्रेषित गर्दछ ।
प्रगतिवादी साहित्यले आशावादी दृष्टिकोण तथा जीवनमुखी स्वर सम्प्रेषण गर्दछ । वर्तमान जतिसुकै कष्टकर भए पनि भविष्य सुन्दर हुने कुराप्रति आशावादी देखिन्छन् प्रगतिवादीहरू । अन्याय र अत्याचारका खाटमुनि इतिहास सुत्न नसक्ने तथा क्रान्ति अनि परिवर्तन अनिवार्य हुने हुनाले वेदनाको पोखरीमा चेतनाको फुल फुलेर अन्याय र अत्याचारका बिचमै विद्रोहको बिउ रोपिएर जनक्रान्ति जन्मिने अनि त्यही क्रान्तिले कुव्यवस्थाको कायापलट गरी सुन्दर संसारको निर्माण हुने कुरामा विश्वास गर्दछ प्रगतिवादी साहित्यले । प्रगतिवादीहरू साहित्यिक रचनालाई जनतामा जागरण फैलाउने चेतनाको दियोका रूपमा लिन   चाहन्छन् । जहाँ चेतनाको दियो जल्दछ त्यहीँ जागरण र उत्साह छाउँछ, त्यहीँ विकास र परिवर्तनका लहरहरू लहराउँछन् र त्यहीँ न्याय र समानताको बास हुन्छ अनि त्यहीँ सभ्य र सुन्दर समाजको निर्माण हुन सक्छ । जहाँ चेतनाको दियो जल्दैन त्यहाँ सधैँभरि कालो अँध्यारो कायम रहन्छ र त्यही अँध्यारोको सम्राज्यमा अन्याय र अत्याचार मौलाउँछन् त्यसैले स्रष्टाले चेतनाको दियो जलाएर जनतामा जागरण फैलाउन सिर्जनाका माध्यमबाट युद्धको मोर्चा समाल्नु पर्ने मान्यता राख्दछन् प्रगतिवादीहरू ।
प्रगतिवादले वर्गीय समाजमा हरेक कुरा वर्गीय भए झैँ प्रेम पनि वर्गीय नै हुन्छ भन्ने कुरामा विश्वास गर्दछ । प्रेम आत्मीय पक्षसँग सम्बद्ध भए पनि यो अलौकिक तथा परालौकिक तŒव नभएर वस्तु जगतकै आन्तरिक पक्षको प्रतिध्वनि हुनाले प्रेम वर्गीयताको सीमारेखाभित्र नै सीमित हुन्छ भन्ने मान्यता प्रगतिवादले राख्दछ । गैरप्रगतिवादी साहित्यमा झैं उच्च धनाढ्य युवती र सडकछाप युवकका बिचमा प्रगाढ प्रेम पर्ने, मालिकको छोरा र श्रमिकको छोराका बिचमा गहिरो दोस्ती हुने, एउटा अरबपतिले एउटा भिखारीसँग साथित्व कायम गर्ने जस्ता कोरा काल्पनिक कथाहरू प्रगतिवादी साहित्यमा स्वीकार्य हँुदैनन् ।
३. कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्य
३.१ कञ्चनपुर जिल्लाको परिचय
कञ्चनपुर जिल्ला पुरानो संरचना अनुसार नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चलको एक मात्र तराईको जिल्ला हो जुन नयाँ संरचना अनुसार प्रदेश नं. ७ मा पर्दछ ।  पहिले नेपालको बाइसे चौबीसे राज्य रहेका बेला यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रभित्र पर्दथ्यो । त्यति बेलासम्म यस जिल्लाको नामाकरण भइसकेको थिएन ।  ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट कालीपारिको सम्पूर्ण भू–भाग ब्रिटिस इन्डियामा गाभिएको पाइन्छ । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि मात्र कैलाली, कञ्चनपुर, बॉके र बर्दियासम्मको तराई खण्ड नयॉ मुलुकको रुपमा नेपालमा आवद्ध भएको पाइन्छ । नेपालको अङ्ग बनेर कैलाली र कञ्चनपुर छुट्टै जिल्ला बनेपछि  कञ्चनपुर जिल्ला अस्तित्वमा आएको देखिन्छ । छुट्टै जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउ‘बाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने मान्यता केही इतिहासविदहरूको रहेको छ । वि.सं. २०१९ सालपछि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सरेको देखिन्छ । 
यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेल्धुरा जिल्ला पर्दछ । यो जिल्ला २८० ३२ुु उत्तर देखि २९० २८ुु उत्तरी अक्षांस र ८०० ३ुु पुर्व देखि ८०० ३३ुु पुर्वी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १६१० वर्ग कि.मी.रहेको छ । भूतलीय उचाइका हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १५२८ मिटरसम्मको उचाइमा अवस्थित छ । जिल्लाको पूर्व–पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाई ३४ कि.मि. रहेको छ । 
३.२ जिल्लाको भाषिक अवस्था
यो जिल्ला भाषिक संरचनाको दृष्टिकोणबाट बढो विविधतायुक्त रहेको पाइन्छ । राष्ट्रिय जनगणना, २०६८ को तथ्यांक अनुसार यस जिल्लामा ४० वटा मातृभाषाहरू बोलिने गरिएको देखिन्छ । मातृभाषाको तथ्यांकलाई केलाउने हो भने पहिले बसोबास रहेको ठाउ‘को नाउ‘मा “ई” प्रत्यय थपेर भाषाको संज्ञा दिइएकोले मातृभाषाको सङ्ख्या ४० पुग्नगएको देखिन्छ । जस्तै ः अछामी, बाजुरेली, बैतडेली, ......... आदि । उक्त तथ्याङ्क अनुसार मातृभाषी वक्ताहरूकोे जनसंख्या हेर्दा डोट्याली ३९.७ प्रतिशत, थारु २५.४ प्रतिशत, नेपाली १६.१ प्रतिशत, बैतडेली ५.२ प्रतिशत, बझाङ्गी ४ प्रतिशत, अछामी २.३ प्रतिशत तथा अन्य ७.३ प्रतिशत रहेको पाइन्छ । यद्यपि भाषा वैज्ञानिक अध्ययनका दृष्टिले हेर्दा कतिपय भाषिकालाई भाषा भनिएको र कतिपय पुराना स्थानका नामसँग सम्बन्ध जोडेर भाषाको नामाकरण गरिएकाले उक्त तथ्याङ्क त्रुटि रहित देखिँदैन । यस जिल्लामा डोटेली, नेपाली, डँगौरा थारु, राना थारु, तामाङ, अवधी, मैथिली, बोटे मातृभाषाका वक्ताहरू बसोबास गर्दै आएका छन् । यसरी जिल्लामा लगभग पौने दर्जनजति भाषाहरू मातृभाषाका रूपमा बोलिने भए पनि सबै भाषामा साहित्य सिर्जना गरिएको पाइँदैन । यस जिल्लामा डोटेली मातृभाषी वक्ताको सङ्ख्या बढी मात्रामा रहे पनि साहित्य सिर्जनाका दृष्टिले भने नेपाली भाषाको नै बढी प्रयोग हुँदै आएको छ र त्यसपछि डोटेली भाषामा पनि केही मात्रामा साहित्य लेख्ने काम भएको छ । भाषिक जागरणको प्रभावबाट प्रभावित केही युवाहरूले डँगौरा थारु र राना थारु भाषामा पनि साहित्य सिर्जनाका प्रकीर्ण प्रयासहरू गरेका देखिन्छन् । यस जिल्लामा मातृभाषाका रूपमा बोलिने अन्य भाषाहरूमा भने साहित्य सिर्जनाको प्रयाससम्म पनि भएको पाइँदैन । प्रस्तुत कार्यपत्रमा कञ्चनपुर जिल्लाको प्रगतिवादी साहित्यको अवस्थाबारे अध्ययन गर्दा कुनै एउटा भाषामा लेखिएको साहित्यलाई मात्र नसमेटी जिल्लाभित्र मातृभाषाका रूपमा बोलिने साहित्य सिर्जनार्थ प्रयुक्त सबै भाषामा लिखित साहित्यलाई समग्रतामा समेट्न खोजिएको छ ।
३.३ प्रगतिवादी साहित्यलेखनको सुरुवात
वि.स.२००७ सालमा प्रजातन्त्रको आगमन सँगै विकसित परिवर्तनकामी सोच तथा अग्रगामी चेतनाको परिणाम स्वरूप देशमा प्रगतिवादी साहित्य लेखिन थालेको र त्यसपछि नै कञ्चनपुर जिल्लामा पनि प्रगतिवादी साहित्य लेखनका प्रयासहरू हुन थालेका देखिन्छन् । दिल्ली सम्झौताले अग्रगमनको यात्रामा अवरोध पु¥याएको र नेपाली जनताको सामन्तवाद तथा सम्राज्याद विरुद्धको लडाइँ कुण्ठित हुन पुगेको कारण विद्रोह गर्न पुगेका क्रन्तिकारी नेता भिमदत्त पन्तले कञ्चनपुर जिल्लाको तत्कालीन सदरमुकाम बेलौरी र मुख्य व्यापारिक नाका ब्रह्मदेव मन्डीमा सरकार तथा ठालुका विरुद्धमा सङ्घर्ष सञ्चालनका क्रममा कञ्चनपुरलाई कर्मथलो बनाएका थिए । तत्कालीन व्ययस्था र स्थानीय टालुका विरुद्ध सशस्त्र सङ्घर्षमा उत्रिएका पन्त भाषण दिने क्रममा आपूmले रचेका कविताहरू पनि सुनाउँथे । यसबाट भिमदत्त पन्त एक विद्रोही नेता हुनुका साथसाथै विद्रोही स्रष्टा पनि थिए भन्ने कुरा पुष्टि हुन्छ । यसरी भिमदत्त पन्तले मौखिक तथा लिखित रूपमा व्यक्त गरेका साहित्यिक अभिव्यक्तिहरूबाटै यस जिल्लामा प्रगतिवादी साहित्यको बिजारोपण भएको मान्न सकिन्छ । उनले के कति सिर्जना गरका थिए भनेर विवरण प्रस्तुत गर्न त गाह्रो छ तर उनले आफ्ना विद्रोही विचारको कलात्मक अभिव्यक्ति दिने गरेको तथ्य उनको जीवनी पढ्दा थाहा पाइन्छ । कल्यान ओझाद्वारा स्नातकोत्तर तहका लागि लेखिएको शोधपत्र परिमार्जन गरी तयार पारिएको ‘भिमदत्त पन्त’ पुस्तकमा समावेश गरिएका पन्तका फुटकर कविताका अंशहरूले पनि पन्त एक कुशल कवि भएको तथ्य पुष्टि  गर्दछन् । पन्तले नेपाली, डोटेली र हिन्दी तिन वटै भाषामा रचेका रचनांश तथा रचना उक्त पुस्तकमा समावेश गरिएका छन् । उनको एउटा कविताशं ‘कि त जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ त आजभोलि पनि निकै चर्चित छ । पन्तका कवितामा जनताको शक्ति नै सर्वोच्च शक्ति भएको अभिव्यक्ति पाइन्छ ।  ठालु तथा शोषकका विरुद्ध अनि निम्न वर्गीय जनताको पक्षमा रचिएका उनका रचनामा प्रगतिवादी स्वर प्रस्टैसँग मुखरित भएको पाइन्छ । जस्तै ः
‘लिएर लाठो जब लोक निस्कला,
सिपाहीले बन्दुक हान्न बिर्सला ।।
प्रस्तुत कवितांशमा जनशक्तिको अगाडि हातहतियारको पनि केही नचल्ने भाव समेटिएको छ । प्रगतिवादीहरू वैयक्तिक विद्रोहमा होइन सचेत जनताको सङ्गठित शक्तिमा विश्वास गर्दछन् र त्यो मर्म यस कवितांशले पनि आत्मसात गरेको छ ।
भिमदत्त पन्तले त्यतिबेला बढी जसो सुनाउने गरेको बहु चर्चित कविता ‘सुन शासक हो’ मा पनि अब सचेत जनता सङ्गठित भएर शोषक शासकका विरुद्ध सङ्घर्षमा उत्रिसकेकोे भाव अभिव्यक्त भएको पाइन्छ । जस्तै ः
सुन शासक हो, सुन शोषक हो, दुनियाँ अब सब जागिसके,
अब जागिसके, सब जागिसके, धनमान र जीवन त्यागिसके ।
सब वीर जवान अगाडि बढे, जनशक्ति अघि प्रभुशक्ति लडे,
अब ता दुनियाँ सब जागिसके डर, लोभ सबै पर सारिसके ।।
जब जनता आफ्नो अधिकारप्रति सचेत हुन्छन् र मनभित्रको सारा डर, त्रास, लोभ, मोह त्यागेर अधिकार प्राप्तिका निम्ति अगाडि बढ्छन् तब त्यस जनशक्तिका अगाडि शोषक शासकको शक्ति टिक्न सक्दैन भन्ने उद्घोष यी पङ्तिहरूमा पाइन्छ ।
भिमदत्त पन्तले रचेका कविता, गीत र गजल प्राप्त भएका छन् र ती सब प्रगतिवादी चिन्तनकै सेरोफेरोमा रहेका छन् । उनका रचनाहरू वैचारिक दृष्टिले मात्र होइन कलात्मक दृष्टिले पनि उच्च कोटिकै देखिन्छन् । ती शब्दगत सौन्दर्य, लयगत माधुर्य अनि भावगत गाम्भीर्यको त्रिवेणीका रूपमा रहेका पाइन्छन् ।
यसरी भिमदत्त पन्तबाट सुरु भएको कञ्चनपुर जिल्लाको प्रगतिवादी साहित्यको इतिहासले साढे छ दशक पार गरिसकेको छ । यो साढे छ दशकमा प्रगतिवादी साहित्यका क्षेत्रमा पर्याप्त मात्रामा काम हुन सकेको पाइँदैन । वि. स. २०१० सालमा तत्कालीन नेपाल सरकारले विस्तारवादी भारत सरकारको समेत सहयोग लिएर भिमदत्त पन्तको हत्या गरिसकेपछि यस क्षेत्रमै छाएको त्रासको वातावरणले केही समय प्रगतिवादी लेखन ओझेल पर्न गएको र वि. स. २०१७ सालमा राजा महेन्द्रले सेनाको बलमा जननिर्वाचित सरकारलाई अपदस्त गरी आफ्नो एक दलीय (निर्दलीय नाम दिइएको) निरङ्कुश शासन चलाएपछि प्रगतिवादी लेखनका लागि झनै प्रतिकूलता सिर्जना भएकाले लामो समयसम्म प्रगतिवादी साहित्यको विकासमा बाधा पुगिरह्यो । तिसको दशकतिर तत्कालीन ने.क.पा. चौ.म. समर्थित विद्यार्थी सङ्गठन अखिल छैटौँले मुखपत्रका रूपमा कञ्चनप्रभा प्रकाशित गर्न थालेपछि प्रगतिवादी लेखनले पुनः गति लिन थालेको देखिन्छ । यस अवधिमा यादवनाथ शर्मा, पदम बहादुर चन्द, पञ्चम राज भट्ट आदिका कविता तथा निबन्धात्मक लेखहरूले  कञ्चनपुरको प्रगतिवादी साहित्यलाई पुनः उठान गर्न खोजेको पाइन्छ । तिसको दशककै उत्तरार्धतिर प्रेमसिँह धामी, अर्जुन चन्द ‘वियोगी’का कथा तथा कविताहरू प्रकाशित हुन थालेका देखिन्छन् । धामीका यस अवधिका केही कथामा प्रगतिवादी स्वर भन्दा पनि आलोचनात्मक यथार्थवादी स्वर नै बढी मात्रामा मुखरित भएको पाइन्छ ।
३.वर्तमान अवस्था
वि. स. २०४६को राजनैतिक परिवर्तन सँगै प्राप्त वाक् तथा लेखन स्वतन्त्रताले प्रगतिवादी साहित्यको विकासका लागि अनुकूलता सिर्जना गरेको भए पनि अपेक्षित विकास भने हुन सकेको छैन । बरु कतिपय प्रगतिवादी विश्व दृष्टिकोण बोकेका स्रष्टाका सिर्जनाहरू पनि प्रखर प्रगतिवादी स्वर मुखरित गर्न नसकी  प्रगतिशीलताकै सीमाभित्र कैद भएका देखिन्छन् । यस अवधिमा पञ्चायतकालका तुलनामा प्रगतिवादी तथा प्रगतिशील साहित्य लेख्ने र प्रकाशन गर्ने काममा केही मात्रामा वृद्धि त भएको छ तर अति नै सुस्त गतिमा यसका साथै पञ्चायतकाल तथा त्यसपूर्व फुटकर कविता(केही गीत र गजल पनि) र निबन्धमा मात्र सीमित रहेको प्रगतिवादी साहित्यको वि.स. २०४६ पछाडि विधागत विस्तार भने भएको पाइन्छ । प्रगतिवादी साहित्यका हरेक विधामा कलम चलाउने स्रष्टाहरूका रचनालाई साक्ष्यका रूपमा प्रस्तुत गर्दै फलानो रचनामा यी यी विशेषताहरू रहेका हुनाले यो प्रगतिवादी रचना हो अनि फलानो रचनामा यी यी विशेषताहरू रहेका हुनाले यो प्रगतिशील मात्र हो भनी प्रस्ट्याउने र जिल्लाको प्रगतिवादी साहित्यको स्पष्ट अवस्था आँकलन गर्ने उद्देश्यले प्रस्तुत कार्यपत्र तयार पार्न खोजिएको भए पनि समय र सामग्रीको अभावका कारण त्यति गहिराइमा पुग्न सकिएको छैन । हाललाई यसमा प्रगतिवादी (प्रगतिशील पनि)साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूको(पाइएसम्मका) नामोल्लेख गर्नेसम्मको काम भएको छ र विद्वान् टिप्पणीकारहरूले कार्यपत्रमाथि गरेको टिप्पणीबाट प्राप्त सुझाव तथा आगामी दिनहरूमा गरिने थप अध्ययनबाट प्राप्त तथ्याङ्कका आधारमा कार्यपत्रलाई पूर्णता दिइने नै छ । कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूबारे यस प्रकार चर्चा गर्न सकिन्छ ः
कविता
कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यका विभिन्न विधाको अवस्था अध्ययन गर्दा सबैभन्दा बढी कविता विधा नै फस्टाएको पाइन्छ । कविता साहित्यको प्राचीनतम विधा हो अनि लयात्मकता, गेयात्मकता, भावगत गहनता जस्ता गुणका कारणले यो पहिलेदेखि नै आकर्षक विधा मानिन्छ । कविताका पनि लघुतम, लघु, मध्यम र वृहत् गरी चार भेद छन् । लघुतम भेदभित्र मुक्तक पर्दछ भने लघुभित्र फुटकर कविता पर्दछ त्यस्तै गरी मध्यमभित्र खण्डकाव्य र वृहत्भित्र महाकाव्य पर्दछ । यस जिल्लाको प्रगतिवादी साहित्यमा कलम चलाउने स्रष्टाहरू कविताका लघुतम, लघु र मध्यम भेदसम्म मात्र सीमित रहेका देखिन्छन् । त्यसमा पनि लघुतम र लघु कविताहरू नै बढी मात्रमा रचिएका छन् । सुरुदेखि हालसम्म मुक्तक, फुटकर कविता, गीत र गजलमा कलम चलाउने स्रष्टाहरूमा भिमदत्त पन्त, राम बहादुर चन्द, महादेव भट्ट, लक्ष्मीदत्त जोशी, यादव नाथ शर्मा, वासुदेव भाइसाब, पञ्चम राज भट्ट, प्रेमसिंह धामी, पदम चन्द, ऋषिराज लुम्साली, टीकाराम अर्याल, पुस्कर शर्मा, अर्जुन चन्द ‘वियोगी’, अर्जुन धानुक, पुष्पमणि भट्ट, डम्मर शर्मा बडू, पदमराज बडू, पदम राज कलौनी, रामचन्द्र नेपाल, भुवन निस्तेज, कल्यान ओझा, नारद ओझा, खेमराज जोशी, खगेन्द्र जोशी, खगेन्द्र ओझा, नारायण लम्साल, नारायण गिरी, वीर बहादुर चन्द, हरीश जोशी, रमेश ‘मितबन्धु’, जगदीश ओझा, हेमबाबु लेखक, राकेश चन्द, गोविन्द शृङ्खला, नन्द बहादुर रोकाया, महेन्द्र बस्नेत, इन्द्र बम, लक्ष्मी पौडेल, नारायण प्रसाद पौडेल, शिवहरि पण्डित, श्यामलाल सुवेदी, गङ्गानाथ शर्मा, सुनिल लो, गङ्गा रिजाल, गङ्गा चालिसे, पी. प्रतीक, भानुभक्त जोशी, चन्द्रकला पन्त, ऋतु कँुवर, विमला चन्द, लक्ष्मी जोशी, कैलाश चन्द्र गिरी, उत्तम बिष्ट, सी.एल.पी., जनक रसिक, हेमराज शर्मा, हेमराज थापा, धनसिंह महरा, सिद्ध नारायण आचार्य, प्रभृति रहेका छन् । यीमध्ये केहीका कविताहरूमा पूर्ण रूपमा प्रगतिवादी स्वर मुखरित भएको पाइन्छ भने केहीका कविताहरूमा प्रगतिशीलता मात्र  पाइन्छ । केही त पछिल्लो समयमा प्रगतिवादी चिन्तनबाटै पलायन  भएको अवस्था पनि विद्यमान छ । कविताको मध्यम रूप खण्डकाव्यमा कलम चलाउने स्रष्टाको खडेरी नै देखिन्छ । यस विधामा कल्यान ओझा बाहेक अरूका रचनाहरू प्राप्त गर्न नसकिएको अवस्था छ । कविताको वृहत् रूप महाकाव्यमा हालसम्म कसैको कलम चलेको पाइँदैन ।
कथा
कथा गद्याख्यानका माध्यमबाट जीवनको कुनै एक पक्षमाथि प्रकाश पार्ने साहित्यको नवीन तर लोकप्रिय विधा हो । यस जिल्लामा प्रगतिवादी तथा प्रगतिशील धारका कथा लेख्नेहरूमा प्रेमसिंह धामी, वासुदेव भाइसाब, रामचन्द्र नेपाल, कल्यान ओझा, पुष्पमणि भट्ट, गोकर्ण भट्ट, नारायण लम्साल, भुवन निस्तेज, गोविन्द शृङ्खला, प्रभृति प्रतिभा रहेका छन् ।
लघुकथा
लघुकथा गद्याख्यानका माध्यमबाट जीवनको कुनै एक साने अंशमाथि झिलिक्क प्रकाश पार्ने साहित्यको नवीनतम लोकप्रिय विधा हो । जीवनका विसङ्गत पक्षको व्यङ्ग्यात्मक प्रस्तुतिका लागि लघुकथा निकै उपयुक्त मानिन्छ । यस जिल्लामा प्रगतिवादी तथा प्रगतिशील धारका लघुकथा लेख्नेहरूमा प्रेमसिंह धामी, रामचन्द्र नेपाल, कल्यान ओझा,  खगेन्द्र जोशी, डम्मर शर्मा बडू, नारायण लम्साल, भुवन निस्तेज, गोविन्द शृङ्खला, प्रभृति प्रतिभा रहेका छन् ।
उपन्यास
उपन्यास पनि गद्याख्यानका माध्यमबाट जीवनको सम्पूर्णतामाथि प्रकाश पार्ने साहित्यको लोकप्रिय विधा हो । प्राचीन कालमा ज्ञमहाकाव्यले जुन उच्चता प्राप्त गरेको थियो वर्तमानमा उपन्यासले पनि त्यही उचाइ प्राप्त गरेको पाइन्छ । जीवनको विविधतापूर्ण अवस्थालाई यथार्थ रूपमा प्रस्तुत गर्न यो विधा निकै सक्षम मानिन्छ । कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यका क्षेत्रमा उपन्यास विधामा कलम चलाउने स्रष्टाकाको निकै नै ठुलो अभाव रहेको पाइन्छ । प्रगतिवादी धाराको नजिक देखिने हालसम्म देवराज शर्माको ‘नौलाहितु’ एउटा मात्र उपन्यास लेखिएको पाइन्छ । यस उपन्यासको कथावस्तु लोककथामा आधारित भएका कारण उपन्यासमा केही घटना अलौकिक प्रकृतिका देखिन्छन् तर तिनलाई प्रतीकात्मक रूपमा हेर्दा र उपन्यासले बोकेको वैचारिक पक्षमाथि ध्यान दिँदा ‘नौलाहितु’ प्रगतिवादी उपन्यास हो भन्ने कुरामा विमति नहोला ।
निबन्ध
निबन्ध जीवन र जगतप्रतिका अनुभूतिहरूलाई गद्यका माध्यमबाट स्वतन्त्र रूपमा प्रस्तुत गरिने आख्यानमुक्त विधा हो । यसमा जुनसुकै पनि विषयवस्तुलाई स्वतन्त्र रूपमा प्रस्तुत गर्न सजिलो हुने हुनाले यतातिर पनि स्रष्टाको आकर्षण बढेको  पाइन्छ । यस जिल्लामा प्रगतिवादी धाराका निबन्ध लेख्ने स्रष्टाहरूमा पञ्चम राज भट्ट, खेमराज जोशी, रामचन्द्र नेपाल, खगेन्द्र जोशी, गोकर्ण भट्ट, डम्मर शर्मा बडू, वीर बहादुर थापा, नारायण प्रसाद पौडेल, सुनिल लो, प्रभृति पर्दछन् । 
यसका अतिरिक्त प्रकीर्ण रूपमा साहित्यका अन्य विधामा पनि कलम चलाउने काम भएको पाइन्छ । तर त्यस्ता कार्य अति नै न्यून मात्रामा भएका छन् ।
४. निष्कर्ष
यसरी कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यका विभिन्न विधाको अवस्था अध्ययन गर्दा कविता, कथा, लघुकथा र निबन्धका क्षेत्रमा केही काम भएको देखिए पनि अन्य विधामा धेरै नै पछाडि परेको पाइन्छ । ती विधाहरूमा कलम चलाउँदै आएका कतिपय स्रष्टाका रचनाहरूमा पनि वैचारिक स्पष्टताको अभाव देखिन्छ । प्रगतिवादी साहित्य यस्तो अवस्थामा रहनु भनेको सन्तोषजनक कुरो  होइन । प्रलेस कञ्चनपुरले प्रगतिवादी साहित्यको उन्नयनका लागि वैचारिक बहसलाई बलियो बनाउँदै लगेर अहिलेसम्म लेखिँदै र प्रकाशन हुँदै आएका विधालाई अझै सशक्त बनाउनुका साथै विधागत विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्नमा जोड दिनु पर्ने देखिन्छ । 
सन्दर्भग्रन्थ सूची
आफ्नासयेभ, भिक्टर, दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, मास्को ः प्रगति प्रकाशन, इ.स. १९७७ ।
एङ्गल्स, फ्रेडरिक, ड्युरिङ मत खण्डन, काठमाडौँ ः माक्र्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान २०६६ ।
ओझा, कल्यान, भिमदत्त पन्त, महेन्द्र नगर ः स्वयम् २०६० ।
किरण, माक्र्सवादी दर्शन, काठमाडौँ ः प्रगतिशील अध्ययन केन्द्र, २०६७ ।
घिमिरे,कृष्णप्रसाद र रामप्रसाद ज्ञवाली, आख्यानकार पारिजात, काठमाडौँ ः हजुरको पुस्तक संसार, २०५८ ।
चापागाईँ, निनु, माक्र्सवादी चिन्तनमा सौन्दर्य, काठमाडौँ ः महिम चापागाईँ, मृदुल चापागाईँ, २०५४ ।
पाण्डेय, ताराकान्त, प्रगतिवाद र कविता, काठमाडौँ ः शीला यागी, २०५६ ।
प्रधान, कृष्णचन्द्रसिँह, नेपाली उपन्यास र उपन्यासकार(चौ.स.), काठमाडौँ ःसाझा प्रकाशन, २०६१ ।
भण्डारी, जगदीशचन्द्र, प्रगतिवादी नेपाली कविता, काठमाडौँ ः मुन्नी भण्डारी, २०५५ ।
माक्र्स, कार्ल, फ्रेडकि एङ्गल्स, साहित्य तथा कला, मास्को ः प्रगति प्रकाशन ।
शर्मा, रामविलास, माक्र्सवाद और प्रगतिशील साहित्य, नयाँ दिल्ली ः वाणी प्रकाशन इ.स. २००२ ।

Sunday, January 29, 2017

प्रलेस / पाँचथर

२०७३ साल माघ १५ गते सम्पन्न प्रलेस पाँचथरकाे  जिल्ला सम्मेलन  सम्पन्न भएको छ  । भेलामा प्रलेसका केन्द्रीय सल्लाहकार भवानी क्षेत्री र केन्द्रीय उपाध्यक्ष मिश्र बैजयन्तिको उपस्थिति थियो । सम्मेलनले प्रेम ओझाको अध्यक्षतामा १३  सदस्यीय जिल्ला  समिति निर्माण गरेको छ  ।











=================================================


प्रलेस / ताप्लेजुङ

प्रगतिशिल लेखक संघ ताप्लेजुङ जिल्ला शाखाको प्रथम जिल्ला सम्मेलन २०७३ चैत्र ५ गते सम्पन्न भएको छ । उक्त सम्मेलनको बन्दसत्रले अम्बिका हाङवाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला शाखा गठन गरेको छ । जसमा उपाध्यक्ष पार्वता पोमु ” जिज्ञाशु , सचिव इन्द्र सरोवर बजगाई , सहसचिव प्रविण हाङवाङ र कोषाध्यक्ष उदय भट्टराई रहेका छन् । त्यसैगरी सदस्यहरु डि वि राई , पदम श्रेष्ठ , प्रमिला लिम्बु , प्रमिला खतिवडा , मञ्जु लिम्बु , खगेन्द्र पोमु ,घनश्याम भट्टराई , शान्तिराम नेपाल , ठाकुरसिं लिम्बु र राजकुमार गुरुङ रहेका छन् । सङ्का केन्द्रीय सदस्य एवम् इतिहास तथा समाजिक अध्ययन विभाग सचिव लम्जेलसङ्घषशको प्रमुख आतिथ्य र केन्द्रीय पाषद जमुना श्रेष्ठको विशेष अतिथ्यिमा सम्मेलन सम्पन्न भएको थियो । सम्मेलन आयोजक समितिका संयोजक आलोक माबुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम कमल भट्टराईले सञ्चालन गरेका थिए ।







000

===================================================

२०७३ साल माघ  १६ गते सम्पन्न प्रलेस ताप्लेजुङकाे प्रथम जिल्ला भेला सम्पन्न भयो । भेलामा प्रलेसका केन्द्रीय सल्लाहकार भवानी क्षेत्री र केन्द्रीय उपाध्यक्ष मिश्र बैजयन्तिको उपस्थिति थियो । भेलाले अालाेक मावाेहाङ लिम्बुको संयोजकत्वमा १९ सदस्यीय  जिल्ला अायाेजक समिति गठन गर्यो । जसअनुसार   -

१)संयाेजक - अालाेक मावाेहाङ लिम्बु
२)सदस्य - प्रयास माबुहाङ
३)सदस्य-मन्जु लिम्बु
४)सदस्य-मन्जु सुब्ब
५)सदस्य-कमल प्रसाद भट्टराइ
 ६)सदस्य-विविहाङ बनेम -
७)सदस्य- पार्वता पाेमु
८)सदस्य-धान्यप्रसाद पाैडेल
९)सदस्य-अम्बिका हाङबुङ
१०)सदस्य-इन्द्र सराेबर बजगाइ
११)सदस्य-ठाकुरसिंह लिम्बु
१२)सदस्य-प्रमिला लिम्बु
१३)सदस्य-घनश्याम भट्टराइ
१४)सदस्य-प्रबिण लिम्बु
१५)सदस्य- लक्ष्मी चुडाल
१६)सदस्य-राजकुमार गुरुङ
१७)सदस्य-डिबि राई
१८)सदस्य-युवराज गाैतम
१९)सदस्य-शान्तीराम भट्टराई














Wednesday, January 25, 2017

प्रलेस / मकवानपुर

युद्धप्रसाद मिश्रको परिचर्चा

हेटौंडा, २८ पुस २०७३ : कवि युद्धप्रसाद मिश्रको सयौं जन्मजयन्तिमा बुधबार कवि मिश्रको योगदानबारे परिचर्चा गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुर र लोकभावना त्रैमासिक पत्रिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली साहित्यमा उल्लेखनीय योगदान पु¥याएका भन्दै कविका रचनाहरु समेत वाचन गरिएका थियो । 
कार्यक्रममा मकवानपुर साहित्यकारहरु रमेश मोहन अधिकारी, नवराज शर्मा, कौशल पाण्डे, सम्राट तुम्बाहाम्फे, शान्तिप्रिय बन्दना, रामहरी शर्मा चौलागाई, भोगेन्द्र लुईटेल लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम लोकभावना त्रैमासिकका रमण लालको अध्यक्षतामा भएको हो ।

प्रलेस / नुवाकोट

प्रगतिशील लेखक संघ नुवाकोटमा नयाँ नेतृत्व

नुवाकोट–प्रगतिशील लेखक संघ नुवाकोटको दोस्रो जिल्ला अधिवेशनले नवदीप अजनबीको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ ।



आज विदुरमा भएको अधिवेशनले उपाध्यक्षमा बद्रीबृन्द गजुरेल, सचिवमा रामहरि गजुरेल, सहसचिवमा ज्वालामुखी र कोषाध्यक्षमा उमा सिलवाल चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा जीवन पुडासैनी, पुरुषोत्तम रिजाल, जनक भट्टराई, इश्वर पौडेल, दुर्गा पनेरु, विवेक ढकाल चयन भएका छन् ।
सम्मेलनले सल्लाहकारहरुमा आर.एम. डंगोल, शिवसुन्दर पुडासैनी, पुरु लम्साल र नवराज अधिकारीलाई चयन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष डा. अमर गिरीले साहित्यले मानिसको जीनक र समाजलाई परिवर्तन गराउने शक्ति राख्नु पर्ने बताए ।
अध्यक्ष गिरीले साहित्यले मानिसको जीवनलाई सुन्दर र अग्रगामी बनाउने भएकोले सम्पूर्ण स्रष्टाहरुलाई मानिसको जीवनलाई केन्द्रमा राखेर सिर्जना गर्नु पर्ने बताए ।
कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रीय सचिव आरएम डंगोलले जिल्लामा साहित्यिक गतिविधीहरुलाई अगाडी बढाउन जिल्ला शाखाले महत्वपूर्ण भूमिका खेली आफूलाई क्रियाशील बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयमा सूचना अधिकारी सुकदेव नेपाल, नेकपा एमालेका जिल्ला सदस्य यमकुमार खाती, एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य धनबहादुर मिजार, साहित्य समाज नुवाकोटका अध्यक्ष बद्रीबृन्द गजुरेल, नवराज अधिकारी लगायतले साहित्यले समाज परिवर्तनको मार्ग बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुरु लम्साल, शिवसुन्दर पुडासैनी, रामहरि गजुरेल, राजकुमारी खड्का, गिता तिमिल्सेना, भगवती लामा, गमला लामा, आरसी भट्ट, अर्जुन ढुंगाना, ज्वालामुखी, पुश्कर अधिकारी, इश्वर पौडेल, विवेक ढकाल, पुरुषोत्तम रिजाल लगायतले कविता र गजलहरु बाचन समेत बाचन गरेका थिए ।

http://www.ratopati.com बाट साभार

======================================